काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारेका छन् । बुधबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले देश राजनीतिक संक्रमण र अस्थिरताबाट गुज्रिएको अवस्थामा वर्तमान सरकार गठन भएको उल्लेख गरे । २३ र २४ भदौका घटनापछि अभिभावकीय शून्यता देखिएको बेला नागरिक भावना र जेन–जी पुस्ताको अपेक्षालाई केन्द्रमा राखेर अहिलेको सरकार बनेको उनको भनाइ थियो ।
‘यो सरकार नागरिक सरकार हो,’ उनले भने, ‘त्यसैले नागरिक र युवापुस्ताको भावना अनुसार सहकार्य र समन्वयमा अघि बढिरहेको छ । निष्ठा र इमानदारीबाट सरकार एक कदम पनि पछि हट्दैन ।’
निर्वाचन सुरक्षामा प्रदेश–संघ समन्वय आवश्यक
गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र सुरक्षा अवस्था, आगामी निर्वाचनका चुनौती र आवश्यक रणनीतिबारे गम्भीर छलफल भएको बताए । उनले तराईका केही क्षेत्रमा देखिन थालेको धार्मिक साम्प्रदायिकता, जेन–जी आन्दोलनपछिका भौतिक क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता विषयलाई गोष्ठीले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री यादवले प्रदेश प्रहरी समायोजन र संघीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै प्रदेशसँग आफ्नै प्रहरी संरचना नहुँदा ‘प्रदेशको प्रहरी छैन’ भन्ने नकारात्मक धारणा बलियो हुँदै गएको प्रति असन्तोष जनाए ।
प्रदेश प्रहरी ऐन ढिलाइ हुँदा सुरक्षा चुनौती
मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले पनि प्रदेश प्रहरी ऐन तत्काल आवश्यक रहेको बताए । प्रदेश प्रहरी समायोजन प्रक्रिया अघि बढ्न नसक्दा संघीय संरचनाभित्रै अदृश्य रूपमा सुरक्षा चुनौती थपिँदै गएको उनको भनाइ थियो । गोष्ठीमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र थप सुदृढ बनाउने र संघ–प्रदेशबीच समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।




