काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक द्वन्द्व चुलिँदै पार्टी विभाजनको जोखिम तीव्र बन्दै गएपछि देशभरका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवासँग सामूहिक भेट गरेका छन्। मंगलबार महाराजगञ्जस्थित देउवाको निवासमा भएको भेटलाई कांग्रेसभित्र बढ्दै गएको संकटप्रति गम्भीर चिन्ताको संकेतका रूपमा हेरिएको छ।
नुवाकोट कांग्रेसका सभापति रमेश महतका अनुसार भेटमा मुख्य रूपमा पार्टीलाई विभाजनतर्फ धकेल्ने पछिल्ला गतिविधिबारे छलफल भएको थियो। जिल्ला सभापतिहरूले विशेषगरी भृकुटीमण्डपमा आयोजित भेलालाई केन्द्रमा राख्दै विकसित घटनाक्रमले कांग्रेसको संगठनात्मक अस्तित्वमै प्रश्न उठेको धारणा राखेका थिए।
भेटका क्रममा जिल्ला सभापतिहरूले पार्टी एकता जोगाउन सभापति देउवाले निर्णायक र सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन। जवाफमा सभापति देउवाले आफू पनि पार्टी विभाजन नहोस् भन्ने विषयमा गम्भीर रूपमा चिन्तित रहेको बताउँदै संवादमार्फत संकट समाधानका लागि नेताहरूलाई खटाइसकेको जानकारी दिएका छन्।
कांग्रेसभित्र विवादको केन्द्रमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयनतर्फ अघि बढ्न खोजेको आरोप संस्थापन पक्षले लगाउँदै आएको छ। यही कदमलाई आधार बनाएर कांग्रेस विभाजनको तयारी भइरहेको निष्कर्षमा जिल्ला तहका नेतृत्वसमेत पुगेको देखिन्छ।
पार्टी फुट हुन नदिन विभिन्न तहबाट प्रयास भइरहे पनि महामन्त्रीद्वयले अडान नछाड्दा संकट झनै गहिरिँदै गएको छ। कांग्रेसभित्र यतिबेला प्रश्न केवल नेतृत्व चयनको होइन, पार्टी जोगिने कि फुट्ने भन्ने निर्णायक मोडमा पुगेको छ।




