काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं जिल्ला कमिटीको बैठकले उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला कमिटीको बैठकमा संगठनात्मक अवस्था, अघिल्लो निर्वाचनको नतिजा र स्थानीय राजनीतिक सन्तुलनलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ। बैठकमा अधिकांश स्थानमा वर्तमान जनप्रतिनिधिलाई नै निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए।
उनका अनुसार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका र संगठनलाई मजबुत बनाउँदै आएका नेताहरूलाई प्राथमिकतामा राखेर सिफारिस गरिएको हो। “कार्यसम्पादन, जनसम्पर्क र संगठन विस्तारमा सक्रिय भूमिकालाई मुख्य आधार बनाइएको छ,” निरौलाले भने।
जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको सूची केन्द्रमा पठाइनेछ। अन्तिम निर्णय भने पार्टीको केन्द्रीय नेतृत्वले गर्ने एमाले स्रोतको भनाइ छ।
एमालेले समयमै उम्मेदवार सिफारिस गरेसँगै काठमाडौंमा चुनावी तयारी तीव्र बनेको छ। पार्टीले आगामी निर्वाचनमा काठमाडौंका सबै क्षेत्रमा जित हासिल गर्ने लक्ष्यसहित संगठन परिचालन र प्रचार–प्रसारलाई अझ सशक्त बनाउने तयारी थालेको जनाएको छ।







