राजनीति

गगन थापाको प्रस्ताव –सरकारको एक वर्ष गुमायौँ, आवश्यक परे मन्त्री फेरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारूढ गठबन्धनले सरकार गठनपछिको पहिलो वर्ष जस्ताको तस्तै गुमाएको टिप्पणी गरेका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारलाई अझ प्रभावकारी बनाउन आवश्यक परे मन्त्री फेरिनुपर्ने धारणा राखेका हुन्।

थापाले भने, “सरकार बनेको एक वर्ष भयो, तर जुन नतिजा दिनुपर्ने थियो, त्यसमा हामी चुकेका छौँ। अहिले सरकार टिकेकोमा मात्र सन्तोष गर्ने हो भने जनता प्रति उत्तरदायी हुन सकिँदैन।” उनले सरकारको सुरुवात उत्साहजनक भए पनि पछिल्लो ६–७ महिनामा निष्क्रियता बढेको स्वीकारे। “सुरुमा सुधारको प्रयास थियो, तर पछि हामी आफैं सुस्त भयौँ,” उनले स्पष्ट पारे।

थापाले सत्ता गठबन्धनभित्रको कुनै खटपट नभएको स्पष्ट पार्दै सरकारको कमजोरी सच्चाउन सबैले आ–आफ्नो भूमिका निभाउनुपर्ने बताए। उनले दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले कांग्रेस सरकारको साझेदारको रूपमा जिम्मेवारी लिन तयार रहेको भन्दै भने, “संघ वा प्रदेशका मन्त्री फेर्नुपर्ने हो भने फेर्नुपर्छ, तर के परिवर्तन गर्न खोजिएको हो, त्यो प्रष्ट हुनुपर्छ।” थापाको यो टिप्पणी सत्तारूढ गठबन्धनलाई भित्रैबाट समीक्षा गर्न आवश्यक रहेको सन्देश हो, जहाँ नेतृत्वको क्षमता, मन्त्रालयको प्रदर्शन र जनअपेक्षाबीचको अन्तरलाई गम्भीरतापूर्वक हेरिनुपर्ने देखिन्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *