बागमती प्रदेश

काँग्रेसबाट नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाको प्रमुखमा क–कसको चर्चा ?

काठमाडौं।स्थानीय चुनावको दिन नजिकिएसँगै नुवाकोटमा काँग्रेसका तर्फबाट उम्मेदवारका आकांक्षीहरु दर्जनौं संख्यामा देखिन थालेका छन् । राजधानीसँग जोडिएको नुवाकोट जिल्लामा काँग्रेसको केन्द्रमा प्रभाव राख्नसक्ने ठूला नेताहरु भएकाले पनि नुवाकोटका स्थानीय तहहरुमा कसले टिकट पाउँछ भन्ने कुरालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।


गत स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका काँग्रेसले जितेको नुवाकोटमा दुई नगरपालिका सहित तीन पालिका एमालेले जीतेको थियो । त्यस्तै दुई गाउँपालिकामा माओवादीले जित हात पारेको थियो । गत निर्वाचनमा दुई नगरपालिकानै गुमाएको काँग्रेसका लागि यसपटक जीत हातपार्नु प्रेसर छ ।

विदुर नगरपालिका :
नुवाकोटको सदरमुकाम रहेको विदुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट ध्रुव अधिकारी मेयरका उम्मेदवार भएका थिए । उनी एमालेका उम्मेदवार सञ्जु पण्डितसँग ९७६ मतान्तरमा पराजीत भएका थिए भने नेकपा माओवादीका उम्मेदवार लिला प्रसाद न्यौपानेले निकै न्यून मत हासिल गरेका थिए ।


यसपटक पनि नेपाली काँग्रेसका तर्फबाट ध्रुवप्रसाद अधिकारी नै मेयरका उम्मेदवार बन्ने सम्भावना अधिक रहेको कांग्रेस कार्यकर्ताहरु बताउँ छन । अन्य प्रबल सम्भावित दावेदारहरुमा फैसिंह तामाङ्ग, ताराबहादुर कार्की, बद्री रिमाल, राजनलाल श्रेष्ठ छन् । अधिकारी नुवाकोट काँग्रेसका पूर्व सभापति हुन्, कार्की र श्रेष्ठ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा रिमाल वडाध्यक्ष छन् ।

बेलकोटगढी नगरपालिका :
नुवाकोटको कान्छो नगरपालिकाका रुपमा रहेको बेलकोटगढी नगरपालिकामा गत निर्वाचनमा काँग्रेसका तर्फबाट यादव प्रसाद नेपाल मेयर उठेका थिए । एमालेका राजेन्द्ररमण खनालले जीत हात पारेको नगरपालिकामा नेपाल तेस्रो भएका थिए । खनालले ६६४३ मत ल्यायी विजयी हुँदा नेपालले ४९४२ मत प्राप्त गरेका थिए ।


यस पटक नेपाली काँग्रेसका तर्फबाट प्रवल दावेदारहरुमा प्रधानमन्त्री देउवाका सचिवालयका किरण गजुरेल, काँग्रेस जिल्ला सहसचिव यादवप्रसाद नेपाल, कृष्णप्रसाद पाण्डे, प्रताप लामा, काँग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का सभापति बैकुण्ठ बहादुर पाण्डे, अक्कलबहादुर ढुंगाना (श्याम) र एस्.के. नेपाल छन ।

गत निर्वाचनमा नेपाली काँग्रेसले टिकट वितरणमा ध्यान पुर्याउन नसक्दा दुवै नगरपालिका गुमाउनु परेको स्थानीय नेताहरुको मत छ । पक्ष विपक्षमा बाँडिएको नुवाकोट काँग्रेसको आन्तरिक राजनीतिले स्थानीय तहमा असर गरेको र एक पक्षले टिकट लैजाँदा अर्को पक्षले पूर्ण रुपमा सहयोग नगरेका कारण काँग्रेस हार्नुपरेको नेता तथा कार्यकर्ताकाे बुझाई छ । मध्यमार्गी बाटो अपनाई माथिल्लो तहसम्मै प्रभाव राख्न सक्ने, विकासमा योजनाहरु ल्याउन सक्ने र जनताले पत्याउने आधार भएका व्यक्तिलाई टिकट दिने हो भने दुबै पालिका काँग्रेसले जित्ने आकलन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *