काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता बारे बोलेका छन् ।
महामन्त्री थापाले संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी सहयोग सम्झौता अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनुपर्ने बताएका छन्।
लामो समय एमसीसीबारे सार्वजनिक अभिव्यक्ति नदिएका थापाले एमसीसी सम्झौता तत्काल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नै संसदमा पेस गरेको भन्दै हालको एमाले, माओवादी वा समाजवादी पार्टीसमेत एमसीसीको पक्षमा उभिनुपर्ने बताएका हुन् ।
‘२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई त्यसबारे जानकारी गराउने निर्णय गरेको रहेछ । सोहीअनुसार एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको देखिन्छ । कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसदमा टेबुल हुनुपर्ने निर्णय गरेको सन्दर्भलाई समेत स्मरण गरी अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्छ’, थापाले भने ।
उनले एमसीसीलाई संसदसम्म पुर्याउने नेताहरू आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने समेत बताए ।




