काठमाडौं । सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन्।
राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदानप्रदान गर्न बिहीबार धुलिखेलमा आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे।
सभामुख सापकोटाले भने, ‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु।’
अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पु¥याउने उल्लेख गर्दै उनले थपे, ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरी हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठीक निर्णय गर्नेछन्, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ।’
देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्छ भने ।




