काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटि बैठकमा फरक मत राखेका छन् ।
आज सकिएको केन्द्रीय कमिटि बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रस्ताव पारित गरेको भएपनि उपमहासचिव भुसालले भने पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् ।
राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढनै नसकिने तर्क गरेका छन् ।
उपमहासचिव भुसालले कम्युनिष्ट पाटी विभाजन भइरहेको र आन्दोलनले ठूलो धक्का खानु परेको अबस्था नेताहरुकै कमजोरीको कारण भएको भन्ने विषय अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत राखेका छन् ।
समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको उनले बताएका छन् ।




