राजनीति

सरकारलाई सच्चिएर काम गर्न नेपाली काँग्रेसको सुझाव

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि देखिएको भन्दै सच्चिएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेका सर्वदलीय बैठकमा काँग्रेसले सरकारलाई सच्चिएर संविधानको मर्म अनुसार चल्न आग्रह गरेको सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

अहिले गणतन्त्रविरोधी आन्दोलनको बारेमा भएको सर्वदलीय छलफलमा काँग्रेसका नेताहरुले व्यवस्थाप्रतिभन्दा सरकारप्रतिको असन्तुष्टि बढेकोले विरोध भएको बताएका छन् ।

बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेस सहमहामन्त्री महतले भने- “देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन, सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।”

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले लिएको नीतिको पनि आलोचना गरेका थिए ।

यसैगरी तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहारको पनि काँग्रेसले विरोध जनाएको थियो ।

साथै नेपाली काँग्रेसले संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको नेता महतले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *