काठमाडौं । साझा पार्टीसँग एकीकरणका लागि विवेकशील नेपाली दलले मतसंग्रह सम्पन्न गरेको छ । दलका अध्यक्ष मिलन पाण्डेले शुक्रबार विज्ञप्ति जारी मतसंग्रह सम्पन्न भएको जनाएको छ ।
‘विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो।
यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने ९एस० की नगर्ने ९नो० भनी मतदान गरेका थिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुने पाण्डेले जनाएको छ ।
यसका लागि एकीकरण, सम्मिलन तथा सहकार्यसम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार संहिता बनाएर विधि पद्धतिबमोजिम तयारी गरेको हो। मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।




