देश

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल पुनः इजलासमा

काठमाडौं । बिचौलिया इनम सापकोटासँग सम्पर्क र भेटघाटको विवरण सार्वजनिक भएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीशहरू पुनः इजलासमा फर्किन थालेका छन् ।

सापकोटासँग ह्वाट्सएपमा भएको कुराकानी तथा होटलमा भेटघाट गरेको विवरण सार्वजनिक भएपछि नाम जोडिएका केही न्यायाधीश इजलासमा सहभागी हुन छाडेका थिए । तर, तिहार तथा छठ बिदापछि सर्वोच्च अदालत खुलेसँगै उनीहरू पुनः नियमित सुनुवाइमा फर्किएका हुन् ।

सापकोटासँग नाम जोडिएका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल मंगलबार इजलासमा सहभागी भएका छन् । उनीहरू दुवै जना केही समयदेखि सुनुवाइ प्रक्रियाबाट अलग रहेका थिए ।

ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा अदालत उपस्थित भए पनि इजलासमा बसेका थिएनन् । उनी न्यायप्रशासनसम्बन्धी अन्य काममा संलग्न थिए । त्यसैगरी, न्यायाधीश फुयालले तिहारअघि नै बिदा लिएका थिए ।

यस प्रकरणमा सामाजिक सञ्जालमार्फत अर्की न्यायाधीश शारंगा सुवेदीको नामसमेत जोडिएको थियो । त्यसपछि तीनै न्यायाधीशको भूमिकालाई लिएर प्रश्न उठेको थियो । घटनापछि शर्मा र फुयाल इजलासमा सहभागी भएका थिएनन् भने न्यायाधीश सुवेदी एक दिनको सुनुवाइबाट अलग भएकी थिइन् ।

करिब एक साताको तिहार तथा छठ बिदापछि अदालत खुलेसँगै शर्मा र फुयाल पुनः इजलासमा फर्किएर मुद्दाको सुनुवाइमा सहभागी भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *