काठमाडौं।निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरे। ९१ वर्षीया उनको भक्तपुरको लोकन्थलीमा बिहीबार साँझ निधन भएको थियो।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्व सभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट गई मुलुकमा लोकतन्त्र स्थापनाका लागि उनले खेलेको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा समेत रहेकी स्व. पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुगेका थिए।
पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उनले आश्रय दिएकी थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व. पोखरेलका दुई छोरा र दुई छोरी छन्।




