देश

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयनमा तीव्रता दिइने

काठमाडौँ । सरकारले नसर्ने रोगको बढ्दो जोखिम नियन्त्रण तथा रोकथामका लागि बहुक्षेत्रीय कार्ययोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ । स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि र विभिन्न मन्त्रालयबीच समन्वयलाई प्राथमिकता दिँदै कार्ययोजना कार्यान्वयनमा तीव्रता दिन लागिएको हो ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा बसेको बैठकले नसर्ने रोगको अवस्था, जोखिमका कारक र नियन्त्रणका उपायबारे छलफल गर्दै कार्ययोजना प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ । कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग अन्तरक्रिया गर्ने तथा नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

छलफलमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार, स्थानीय तहसँग समन्वय र विद्यालय तहदेखि सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयलाई प्राथमिकता दिइएको थियो । स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाइराख्ने उपायबारे पनि छलफल भएको छ ।

बैठकमा सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, अत्यधिक प्रशोधित तथा अस्वस्थकर खाद्यवस्तु, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीले जनस्वास्थ्यमा पार्ने असरबारे समीक्षा गरिएको थियो । यस्ता जोखिम न्यूनीकरणका लागि प्रभावकारी नियमन र नियन्त्रण आवश्यक रहेकोमा जोड दिइएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोगको नियन्त्रणका लागि उपचारात्मक सेवासँगै रोकथाम, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिएको छ ।

नसर्ने रोग नियन्त्रण स्वास्थ्य क्षेत्रको एकल प्रयासबाट सम्भव नहुने भएकाले विभिन्न मन्त्रालय, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष छ ।

नेपालले सन् २०३० सम्म नसर्ने रोगबाट हुने अकाल मृत्युदर एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाएको छ । उक्त लक्ष्य हासिल गर्न रोगको प्रारम्भिक पहिचान, जोखिमका कारक न्यूनीकरण तथा जनस्वास्थ्यमा आधारित रोकथामका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *