काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बझाङका प्रहरी प्रमुख डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ की २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको छ ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।
प्रहरीका अनुसार बुङ्गल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
घाइतेहरूलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन् । दुर्घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताएका छन् । प्रहरी टोली घटनास्थलतर्फ परिचालित भइसकेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




