देश

क्यानमा मनोनीत भएको एक महिनामै गुञ्जन शाह ठकुरी फिर्ता, राखेपको निर्णयले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई मनोनीत भएको एक महिना नपुग्दै फिर्ता बोलाएको छ। राखेपले बुधबार सदस्य सचिवस्तरीय निर्णय गर्दै शाह ठकुरीलाई फिर्ता बोलाएको हो। उनलाई गत १ असोजमा क्यानको सदस्यमा मनोनीत गरी पठाइएको थियो।

नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २, दफा ३ को उपदफा ९४० मा राखेपबाट संघको पदेन सदस्य मनोनयन गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार राखेपले शाह ठकुरीलाई क्यान सदस्यमा मनोनीत गरेको थियो। तर, नियुक्ति भएको एक महिना नपुग्दै उनलाई फिर्ता बोलाउने निर्णय गरिएको छ। राखेपले यस्तो निर्णय गर्नुको कारण भने उपलब्ध विवरणमा खुलाइएको छैन।

राखेपले विभिन्न खेल संघमा मनोनीत गरेका सदस्यहरूलाई फिर्ता बोलाएको विवरणमा अन्य संघका प्रतिनिधि पनि समेटिएका छन्।
फिर्ता बोलाइएका सदस्यहरूको विवरणअनुसार नेपाल ब्याडमिन्टन संघबाट शम्भु कार्की (विराटनगर–७, मोरङ), नेपाल सुटिङ संघबाट कृष्णहरि सञ्जु (भक्तपुर), नेपाल पौडी संघबाट विनोद श्रेष्ठ (सिन्धुपाल्चोक) र नेपाल साइक्लिङ महासंघबाट गणेशप्रसाद मैनाली (सर्लाही) रहेका छन्।

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) बाट गुञ्जन शाह ठकुरी (घोराही उपमहानगरपालिका–१५, दाङ) लाई फिर्ता बोलाइएको छ। विभिन्न खेल संघमा राखेपबाट मनोनीत प्रतिनिधि फिर्ता बोलाउने निर्णयसँगै खेलकुद संघहरूमा प्रतिनिधित्व र मनोनयनसम्बन्धी विषय पनि चासोको केन्द्रमा आएको छ। यद्यपि, सदस्यहरूलाई फिर्ता बोलाउनुको कारण र त्यसपछिको प्रक्रियाबारे थप विवरण सार्वजनिक भएको छैन।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *