काठमाडौं । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ । गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए ।
सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौँ दिनमा शव फेला परेको हो । थारुको शव आज बेपत्ता भएको स्थानबाट १०÷१५ मिटर दक्षिणतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । “शव अड्किएका अवस्थामा फेला परेको छ”, उनले भने , “शव परीक्षणपछि परिवारको जिम्मा लगाउँछौँ ।”
बर्दियाको ठाकुरबाबा नगरपालिकाका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमासुरक्षा गुल्ममा हाजिर भएका थिए । दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो ।




