देश

चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति शंकर पोखरेलको आपत्ति

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका हुन् ।

उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत रहेको उल्लेख गरेका छन् । पोखरेलले गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको बताएका छन् ।

पोखरेलले भनेका छन्, ‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (Rule of Law) को मर्मविपरीतको काम हो । यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो । तसर्थ सबैले गलत कामको खबरदारी गरौँ ।’

प्रहरीले जबरालाई गएराति उहाँकै निवासबाट पक्राउ गरेको थियो । यद्यपि, प्रहरीले सुरक्षा थ्रेट रहेकाले सुरक्षाका लागि जबरालाई नियन्त्रणमा लिएर ल्याइएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *