देश

बाढीपीडितको राहतका लागि टोयोटाले दियो ३ करोड

काठमाडौँ। टोयोटा समूहले नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले टोयोटा मोटर एसिया र टोयोटा त्सुशो एसिया प्यासिफिकको सहयोगमा उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। रकम औपचारिक रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको यूटीएसले जनाएको छ।

कम्पनीका अनुसार गत भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीसहित देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हो।

विपद्को कठिन घडीमा राहत तथा उद्धारमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय सङ्घसंस्था, स्वयंसेवक र स्थानीय समुदायप्रति यूटीएसले धन्यवाद व्यक्त गरेको छ। ‘Standing Together. For Our Nepal’ भन्ने सन्देशसहित टोयोटाले विपद्बाट प्रभावित समुदायको पुनरुत्थानमा नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *