विश्व

मध्यपूर्वमा तनाव र खराब मौसमले ट्रम्प चाँडै फर्किए ह्वाइट हाउस

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा बिताउने तय भएको आफ्नो सप्ताहन्तको बसाइ छोट्याउँदै अपेक्षाभन्दा चाँडै ह्वाइट हाउस फर्किएका छन्।

पूर्वतय तालिका अनुसार ट्रम्प आइतबार स्थानीय समय अनुसार अबेर मात्र क्याम्प डेभिडबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो।

अमेरिकी प्रशासनले राष्ट्रपतिको भ्रमण तालिकामा अचानक गरिएको यस परिवर्तनको औपचारिक कारण खुलाएको छैन। यद्यपि, साउदी अरब र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व “तीव्र रूपमा बढ्न सक्ने” चेतावनी दिँदै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूका लागि विशेष सूचना जारी गरेलगत्तै ट्रम्प ह्वाइट हाउस फर्किएका हुन्।

अर्कोतर्फ, पहाडी क्षेत्रमा अवस्थित क्याम्प डेभिडमा वर्षा र आँधीबेहरीको सम्भावना रहेको मौसम पूर्वानुमानलाई पनि यसको सम्भावित कारण मानिएको छ। सप्ताहन्तमा राष्ट्रपतिको भ्रमण तालिका मौसम लगायतका कारणले परिवर्तन हुनुलाई सामान्य रूपमा नै लिइन्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *