कर्णाली। कुनै समय एउटा मेडिकल अधिकृतसमेत पाउन कठिन मानिने जुम्ला अहिले चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र चिकित्सा शिक्षाको विस्तारसँगै जुम्लाले विशेषज्ञ तथा एमबिबिएस चिकित्सक उत्पादन गरी देश तथा विदेशमा जनशक्ति पठाउन थालेको हो।
विगतमा जुम्लाको जिल्ला अस्पतालमा एक जना चिकित्सक भए पनि लामो समय टिक्न नसक्ने अवस्था थियो। स्नातक तहका चिकित्सक पाउनु पनि उपलब्धिका रूपमा लिइने जुम्लाले पछिल्लो समय १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेन्याङ्म्बोका अनुसार प्रतिष्ठानबाट हालसम्म स्नातकोत्तर तहका १४ जना विशेषज्ञ चिकित्सक उत्पादन भइसकेका छन्। पहिलो ब्याचबाट पाँच, दोस्रो ब्याचबाट पाँच र तेस्रो ब्याचबाट चार जना विशेषज्ञ चिकित्सक उत्पादन भएका हुन्।
प्रतिष्ठानबाट उत्पादित चिकित्सकले नेपालमा मात्रै नभई विदेशमा समेत सेवा दिन थालेका छन्। दोस्रो ब्याचबाट पेडियाट्रिक्समा विशेषज्ञता हासिल गरेकी डा. अकिना सैंजु हाल अष्ट्रेलियामा चिकित्सकीय सेवा दिइरहेकी छन्।
प्रतिष्ठानमा अहिले पेडियाट्रिक्स, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (जीपीइएम), अर्थोपेडिक्स, एनेस्थेसिया, सर्जरी र गाइनोक्लोजी विषयमा चौथो, पाँचौँ र छैटौँ ब्याचका गरी २३ जना विशेषज्ञ चिकित्सक अध्ययनरत छन्।
एमबिबिएसको पहिलो ब्याचबाट १८ चिकित्सक
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एमबिबिएसतर्फ पहिलो ब्याचका १८ विद्यार्थी उत्पादन गरेको छ। प्रतिष्ठानको २०८३ असार ६ गते प्रकाशित नतिजाअनुसार पहिलो ब्याचका २० मध्ये १८ विद्यार्थी एमबिबिएस उत्तीर्ण भएका हुन्।
तराई तथा पहाडी जिल्लाबाट जुम्ला पुगेर अध्ययन गरेका विद्यार्थीले हिमाली भूगोलमा चिकित्सा शिक्षा हासिल गर्नु चुनौतीपूर्ण भए पनि त्यही अनुभव आफ्नो करियरको महत्वपूर्ण आधार बनेको बताएका छन्।
सिराहकी नुरजाह खातुनले सुरुमा जुम्लामा आएर अध्ययन गर्न कठिन भए पनि अहिले जुम्ला आफ्ना लागि सुन्दर र अवसरको ठाउँ बनेको बताइन्। उनका अनुसार हिमाली जिल्लामा बसेर चिकित्सक बन्ने अवसर आफैँमा महत्वपूर्ण अनुभव हो।
रुपन्देही बुटवलका समीरराज जोशीले कर्णालीमा आएर चिकित्सा शिक्षा हासिल गर्न पाउनु ऐतिहासिक अवसर भएको बताए। पूर्वाधार र सडकको थप विकास गर्न सके जुम्ला भविष्यमा स्वास्थ्य पर्यटनको केन्द्र बन्न सक्ने उनको भनाइ छ।
बैतडीकी हेमलता चन्दले पनि सुरुमा जुम्लामा आएपछि आफ्नो चिकित्सा शिक्षाको सपना पूरा होला कि नहोला भन्ने चिन्ता भए पनि प्रतिष्ठानको शैक्षिक वातावरण र शिक्षकको सहयोगले अध्ययन सहज भएको बताइन्। उनले जुम्लालाई आफ्नो चिकित्सकीय करियरको जगका रूपमा लिएकी छन्।
उपकुलपति मेन्याङ्म्बोले पहिलो एमबिबिएस ब्याचबाट १८ चिकित्सक उत्पादन हुनु कर्णाली र समग्र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। प्रतिष्ठानबाट उत्तीर्ण विद्यार्थीले एक वर्षको इन्टर्नशीप पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरी चिकित्सकीय सेवामा प्रवेश गर्नेछन्।
२३० विद्यार्थी एमबिबिएस अध्ययनरत
प्रतिष्ठानमा अहिले छैटौँ ब्याचसम्म एमबिबिएसको अध्ययन भइरहेको सहायक प्राध्यापक लोकजन सिंहले जानकारी दिए। उनका अनुसार पहिलो ब्याचमा २०, दोस्रो र तेस्रो ब्याचमा ३०–३० तथा चौथो, पाँचौँ र छैटौँ ब्याचमा ५०–५० जना गरी कुल २३० विद्यार्थी एमबिबिएस अध्ययनरत छन्।
२०७८ मंसिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबिबिएस अध्ययनको औपचारिक उद्घाटन गरेकी थिइन्। त्यसयता प्रतिष्ठानले निरन्तर चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको छ। आगामी वर्ष एमबिबिएसतर्फ थप विद्यार्थी भर्नाका लागि सरकारसँग कोटा माग गर्ने तयारी रहेको उपकुलपति मेन्याङ्म्बोले बताए।
प्रतिष्ठानमा भारतबाट समेत विद्यार्थी आउन थालेका छन्। हाल उत्तराखण्ड, मध्यप्रदेश र जम्मु–कश्मीरलगायत क्षेत्रका आठ जना भारतीय विद्यार्थी एमबिबिएस अध्ययनरत छन्।
चिकित्सा शिक्षासँगै अन्य स्वास्थ्य कार्यक्रम विस्तार
प्रतिष्ठानले एमबिबिएससँगै विभिन्न स्वास्थ्यसम्बन्धी विषयमा समेत अध्ययन–अध्यापन गराउँदै आएको छ। स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ र स्कुल अफ पब्लिक हेल्थअन्तर्गत विभिन्न तहका कार्यक्रम सञ्चालनमा छन्।
ब्याचलर इन क्लिनिकल फार्मेसीतर्फ पहिलो ब्याचका ११ विद्यार्थी उत्तीर्ण भइसकेका छन् भने दोस्रोदेखि छैटौँ ब्याचसम्म ७८ विद्यार्थी अध्ययनरत छन्।
त्यस्तै, ब्याचलर अफ मिडवाइफरी साइन्स, ब्याचलर अफ नर्सिङ साइन्स, बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थका विभिन्न तहका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। प्रतिष्ठानमा स्नातकोत्तर तहका विभिन्न विषयमा पनि अध्ययन जारी छ।
कर्णालीको स्वास्थ्य र सामाजिक रूपान्तरणमा योगदान
प्रतिष्ठानका संस्थापक तथा पहलकर्ता संविधानसभा सदस्य नरेश भण्डारीले सामान्य स्वास्थ्यकर्मीका लागि समेत केन्द्र सरकारसँग हारगुहार गर्नुपर्ने जुम्लाले अहिले विशेषज्ञ चिकित्सक उत्पादन गर्न थाल्नु ठूलो उपलब्धि भएको बताए।
उनका अनुसार इच्छाशक्ति र योजनाबद्ध प्रयास भए भौगोलिक विकटता विकासको बाधक बन्न सक्दैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवासँगै मानव विकास र सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले प्रतिष्ठानका कारण जुम्लामा उपचार सेवा सहज हुनुका साथै शिक्षा, रोजगारी र आर्थिक गतिविधिसमेत बढेको बताए। विगतमा उपचारका लागि बाहिर जानुपर्ने अवस्था रहे पनि अहिले स्थानीयस्तरमै धेरै स्वास्थ्य सेवा उपलब्ध हुन थालेको उनले उल्लेख गरे।
यसरी कुनै समय स्वास्थ्यकर्मीको अभाव झेलिरहेको जुम्ला अहिले चिकित्सक उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा अघि बढेको छ। चिकित्सा शिक्षा, उपचार सेवा र अनुसन्धानलाई सँगसँगै अघि बढाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाको मात्र नभई समग्र कर्णालीको पहिचानसमेत परिवर्तन गर्न थालेको देखिन्छ।




