काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद् मन्त्रीहरूले सांसदलाई थर्काउने स्थान नभएको भन्दै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनतालाई आश्वस्त पार्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठन भएको १०० दिन पूरा भइसकेकाले अब प्रधानमन्त्रीले संसद्मा आएर सरकारको कामकारबाहीबारे स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे।
‘१०० दिन पनि सरकार पुग्यो, मधुमास पनि सकियो। अब प्रधानमन्त्री संसद्मा आउनुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ। यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन। संसद् सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले त्यसको जवाफ दिने तथा सरकारलाई जवाफदेही बनाउने थलो हो,’ उनले भने।
सांसद दुलालले महँगी, कालोबजारी र बिचौलिया प्रवृत्तिले विशेषगरी गरिब तथा श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण र जनतालाई राहत दिने प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे।
उनले गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै प्रश्न उठाए। भदौ २३ र २४ का घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको आरोप लगाउँदै उनले सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न र संसद्प्रति सरकार जवाफदेही बन्न माग गरे।




