काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेटविपरीत काम गरे आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित जनताले दिएको बलियो समर्थनअनुसार सरकार सफल हुनुपर्ने बताए। तर सरकारले जनतालाई निराश बनाउने निर्णय गरे त्यसको विरोध गरिने उनको भनाइ थियो।
अध्यक्ष घिसिङले सरकारले हालै ल्याएको करसम्बन्धी व्यवस्था अव्यावहारिक रहेको टिप्पणी गरे। जनतालाई राहत दिनुपर्ने समयमा विद्युत्मा कर लगाउने निर्णयले उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने उनको तर्क थियो।
उनले उज्यालो नेपाल पार्टी जनताका समस्या र मुद्दा बोकेर अघि बढ्ने तथा आगामी दिनमा देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे। नयाँ राजनीतिक शक्तिको विकल्प पुराना दल हुन नसक्ने उल्लेख गर्दै उनले नयाँको विकल्प उज्यालो नेपाल पार्टी नै भएको जिकिर गरे।
“नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन। नयाँको विकल्प नयाँ नै हुन्छ, र त्यो उज्यालो नेपाल पार्टी हो,” उनले भने।
अध्यक्ष घिसिङले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा उज्यालो नेपाल पार्टीले देशभर आफ्नो संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउने विश्वास व्यक्त गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा टिकाउ नहुने दाबी गर्दै नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ आवश्यक रहेको बताए। हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनको भनाइ थियो।
“राष्ट्रिय स्वतन्त्र पार्टीले निलो क्रान्तिको कुरा गर्यो, तर निलो क्रान्ति धेरै समय टिक्दैन। नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि आवश्यक अन्तिम क्रान्ति भनेको हरित क्रान्ति हो, र त्यसको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ,” उनले भने।




