काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले वर्तमान सरकार गठनपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए। उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. एस. जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय साझेदारीका विविध आयाममा छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार दुई देशबीचको सहयोग विस्तार, व्यापार, लगानी, पूर्वाधार विकास तथा आपसी चासोका समसामयिक विषयहरू पनि वार्ताको एजेन्डामा रहनेछन्।
तीनदिने भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।




