देश

१०५ वर्षीय खड्काद्वारा मतदान

काठमाडौँ। काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा रहेको मतदान केन्द्रमा आज बिहान एक प्रेरणादायी दृश्य देखिएको छ । एक सय पाँच वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले उत्साहका साथ आफ्नो मतदान अधिकार प्रयोग गर्दै सो केन्द्रमा पहिलो मतदान गर्नुभएको हो ।

बिहान ७ः३० बजे मतदान प्रक्रिया सुरु भएसँगै उहाँले मतदान केन्द्रमा पुगेर पहिलो मत खसाल्नुभएको हो । ज्येष्ठ उमेरका बाबजुद पनि मतदानप्रति उहाँको उत्साह र प्रतिबद्धताले उपस्थित मतदाता तथा निर्वाचन कर्मचारीलाई समेत प्रेरित बनाएको छ ।

मतदानपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै खड्काले मतदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “१०५ वर्षको उमेरमा पनि आज मतदान गर्न पाउँदा निकै खुसी लागेको छ । देशले योग्य, इमानदार र जनताको हितमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”

खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोध कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको स्थानीयवासी तथा सञ्चारकर्मी अनिता श्रेष्ठले बताउनुभयो । मतदान केन्द्रमा उपस्थित मतदाताले उहाँलाई सम्मानका साथ स्वागत गरेका थिए भने धेरैले उहाँसँग फोटो खिचेर यो क्षणलाई स्मरणीय बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *