देश

सुरक्षाको पूर्ण व्यवस्था, राजनैतिक संस्कार भएकालाई मतदान गर्न गृहमन्त्री अर्यालको सुझाव

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर शान्ति–सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिँदै नागरिकलाई निर्धक्क रूपमा मतदान गर्न आग्रह गरेका छन्। गृह मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रियामा उनले सबै सुरक्षा संयन्त्र मतदानस्थलसम्म परिचालन भइसकेको र आवश्यक परेमा थप व्यवस्था गर्न तयारी अवस्थामा रहेको बताए। “यसपटकको निर्वाचन स्वच्छ, भयरहित र व्यवस्थित हुनेछ,” उनले विश्वास व्यक्त गरे।

गृहमन्त्री अर्यालले मतदातालाई भावनामा होइन, विवेकमा आधारित भएर मतदान गर्न आग्रह गर्दै राजनीतिक संस्कार भएका उम्मेदवार छनोट गर्न अपिल गरे। “राजनीतिक संस्कार नभएका व्यक्ति संसद वा सरकारमा पुगे मुलुकलाई दीर्घकालीन असर पर्न सक्छ,” उनले भने। निर्वाचन अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परे नेपाली सेनासमेत परिचालन गरिएको छ। अवैध गतिविधिमा संलग्न पाइए कानुनी कारबाही गरिने स्पष्ट पार्दै उनले मतदानपछि मतपेटिका सुरक्षित रूपमा सम्बन्धित निर्वाचन कार्यालयमा पुर्‍याइने बताए।

यसअघि गृह मन्त्रालयले उम्मेदवार र राजनीतिक दललाई ‘रुफ टप’ गाडी प्रयोग नगर्न निर्देशन दिएको थियो। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको गृहमन्त्रीको भनाइ छ। गृह मन्त्रालयले ७७ वटै जिल्लामा निर्वाचन तयारी पूरा भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमार्फत सुरक्षा अवस्था सामान्य रहेको र सबै सामग्री मतदानस्थलमा पुगिसकेको जानकारी लिइएको छ।

यसैबीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि मतदातालाई उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेका छन्। उनका अनुसार देशभर मतदान र मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरेका छन्। देश यतिबेला मतदानको प्रतीक्षामा छ। कडा सुरक्षा व्यवस्थाबीच नागरिकको सक्रिय र सचेत सहभागिताले नै निर्वाचनलाई सफल बनाउने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *