काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् । तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ । मोजतबा इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।
अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको मृत्यु भएपछि इरानमा नयाँ सर्वोच्च नेताबारे अड्कलबाजी भइरहेको थियो । मोजतबालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थनबाट छानिएको बताइएको छ ।
सञ्चारमाध्यमका अनुसार, मोजतबाको चयन इरानी रिभोलुसनरी गार्ड कोप्र्सको दबाबमा भएको हो । तथापि, इरानको इस्लामिक गणतन्त्रले प्रायः वंशानुगत शासनको आलोचना गर्दै आएको छ । यद्यपि, अली खामेनेईले आफ्ना उत्तराधिकारीहरूको सूचीमा मोजतबाको नाम समावेश नगरेको बताइएको थियो । अर्कातर्फ, इरानको शिया धार्मिक नेतृत्वमा बाबुबाट छोरामा सत्ता हस्तान्तरण हुनुलाई सामान्य रूपमा स्वीकार गरिँदैन ।
को हुन् मोजतबा खामेनेई ?
इरानका पूर्वसर्वोच्च नेता अली खामेनेईका जेठा छोरा मोजतबा कुनै उच्चपदस्थ धार्मिक नेता होइनन् । उनले कहिल्यै सरकारी पद सम्हालेनन् र शासनमा कुनै औपचारिक हैसियत राखेनन् । तैपनि, देशको राजनीतिमा उनको गहिरो प्रभाव रहेको मानिन्छ । विशेषगरी, मोजतबाको इरानी रिभोलुसनरी गार्ड कप्र्ससँग नजिकको सम्बन्ध रहेको बताइन्छ । उनले इरान युद्धका क्रममा इरानी सेनाको तर्फबाट सहभागिता जनाएका थिए ।
खामेनेई परिवारका उनी युद्धकालमा जीवित सदस्यमध्ये पर्छन् । उनको परिवारका अन्य सदस्य पत्नी, छोरी, नाति, बुहारी र ज्वाइँको मृत्यु भइसकेको छ ।




