देश

यूएई ड्रोन आक्रमणमा गोर्खाका युवकको मृत्यु पुष्टि, पार्थिव शरीर स्वदेश ल्याउने तयारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु भएका नेपाली नागरिकको औपचारिक सनाखत भएको छ। नेपाली राजदूतावास अबुधाबीले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको पहिचान सार्वजनिक गरेको हो।

दूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोर्खा जिल्ला स्थायी घर भएका २९ वर्षीय दिबस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ। उनी यूएईस्थित ‘मिडल इस्ट कम्पनी’मा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

श्रेष्ठको निधनबारे आधिकारिक जानकारी यूएईको परराष्ट्र मन्त्रालयमार्फत् दूतावासलाई प्राप्त भएको हो। घटनापछि नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

दूतावासले परिस्थिति सामान्य भएपछि मृतक श्रेष्ठको पार्थिव शरीर नेपाल फिर्ता पठाउन आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। साथै, यूएईमा विकसित संवेदनशील अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। दूतावासले सुरक्षित स्थानमा बस्न, नआत्तिन र यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न सबै नेपालीलाई आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *