काठमाडौं। दुर्गा प्रसाईं लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउन यो अनुमति दिएको हो। प्रसाईंलाई आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक हुन्।
यसअघि पनि उनी ४ फागुनमा पक्राउ परेका थिए। गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालत ले १३ फागुनमा थुनामुक्त गर्न आदेश दिएको थियो। हाल पुनः सार्वजनिक शान्ति सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। प्रसाईं पछिल्लो समय निर्वाचन नहुने विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।




