काठमाडौं। मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण विभिन्न देशका विमानस्थल बन्द भएपछि त्यहाँ ट्रान्जिटमा रहेका नेपाली नागरिकलाई हाल जहाँ छन्, त्यहीँ सुरक्षित राख्ने व्यवस्था मिलाइएको सरकारले जनाएको छ।आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि बालानन्द शर्मा ले युद्धको प्रभाव र त्यसबाट नेपाली नागरिकमा परेको असरबारे छलफल भएको जानकारी दिए। उनका अनुसार सम्बन्धित देशस्थित दूतावासहरूसँग समन्वय गरेर अलपत्र नेपालीको सुरक्षा सुनिश्चित गरिएको छ। “अहिलेलाई विमानस्थलहरू बन्द भएकाले कसैलाई फर्काउन वा गन्तव्यतर्फ पठाउन सम्भव छैन,” मन्त्री शर्माले भने, “जो जहाँ छन्, त्यहीँ सुरक्षित रूपमा राख्ने र आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइएको छ।”
सरकारले एयरलाइन्स र रोजगारदाता कम्पनीहरूसँग समेत समन्वय गरेर ट्रान्जिटमा रहेका नेपालीलाई आवश्यक हेरचाह उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।
यूएईमा आक्रमण, एक नेपालीसहित तीनको मृत्यु
यसैबीच, ईरान ले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको आक्रमणमा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणमा १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरिएका थिए। तीमध्ये १५२ क्षेप्यास्त्र आकाशमै नष्ट गरिएको र १३ वटा समुद्रमा खसेको उल्लेख छ। आक्रमणमा एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको ज्यान गएको यूएईको राष्ट्रिय सञ्चारमाध्यम न्गाि ल्भधक ले जनाएको छ। साथै ५८ जना विभिन्न देशका नागरिक सामान्य घाइते भएका छन्।
अवस्था निगरानीमा
नेपाली दूतावास अबुधाबी ले घटनाबारे अनौपचारिक जानकारी प्राप्त भएको जनाएको छ। यद्यपि मृतक नेपालीको औपचारिक पुष्टि र परिचय सार्वजनिक हुन बाँकी छ। सरकारले मध्यपूर्वको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र आवश्यक परे उद्धार रणनीति सक्रिय पार्ने जनाएको छ। साथै सर्वसाधारणलाई आधिकारिक सूचना मात्र विश्वास गर्न र दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ।
मध्यपूर्वमा तनाव बढ्दैः १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा सरकार सक्रिय




