काठमाडौ। नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राखेको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।
उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए । “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ”, उनले भने ।
यस्तै, २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।





