देश

जेनजी आन्दोलनका सहिदको स्मृतीकरणः संसद भवनमा सालिक स्थापना अघि बढाइने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने विषयमा हालसम्म भएको प्रगतिबारे जानकारी लिएकी छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रीहरू तथा निकायका अधिकारीहरूसँग निर्माणाधीन संसद भवन परिसरमा सहिदका सालिक स्थापना गर्ने विषयमा छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार तथा सहरी विकास मन्त्री कुमार इङ्नाम सहभागी थिए । यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल र कानुन सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी थिए ।

सहरी विकास सचिव सिग्देलले सहिदका सालिक राख्न पहिचान गरिएका स्थानहरू तथा सम्भावित डिजाइनबारे जानकारी गराउँदै आवश्यक सुझाव र निर्देशनका लागि आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलाइ नगरी संसद भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी छन् ।

सरकारले जेनजी आन्दोलनकारीसँग भएको सम्झौताअनुसार सहिदहरूको त्याग र बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *