काठमाडौं । तनहुँ–१ को उपनिर्वाचनले नेपाली राजनीतिमा स्पष्ट सन्देश दिएको छ । लामो समयदेखि नेपाली कांग्रेसको सुरक्षित क्षेत्र मानिँदै आएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार खडा गरेको छ । २०७९ को आम निर्वाचनमा यही क्षेत्रबाट कांग्रेस नेता रामचन्द्र पौडेल २५ हजारभन्दा बढी मतसहित विजयी भएका थिए । रास्वपा चौथो स्थानमा सीमित थियो । तर पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै खाली भएको सिटमा २०८० वैशाख १० मा भएको उपनिर्वाचनले राजनीतिक समीकरण नै उल्ट्याइदियो ।
कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउँदै भारी मतान्तरसहित जित हात पारे । कांग्रेसका गोविन्द भट्टराई २० हजार १ सय २२ मतमै सीमित भए भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतमा खुम्चिए । नतिजाले देखायो—यो केवल उम्मेदवारको हार–जित होइन, पुराना दलप्रतिको असन्तुष्टिको अभिव्यक्ति पनि हो ।
तनहुँ–१ मा कांग्रेस र एमाले दुवैको वडास्तरसम्म बलियो संगठन छ । तर उपनिर्वाचनले संगठन मात्र निर्णायक हुँदैन भन्ने देखायो । गठबन्धन राजनीतिले थाकेका मतदाता, ‘फ्रेश विकल्प’ खोजिरहेका युवाहरू र असन्तुष्ट कांग्रेस–माओवादी मतदाताको ‘फ्लोटिङ भोट’ रास्वपातर्फ सरेको विश्लेषण छ ।
रास्वपाले पनि यसपटक ४२ वटै वडामा संगठन विस्तार गरेको दाबी गरेको छ । तर उनीहरूको जित संगठनभन्दा बढी माहोल, सन्देश र समयको संयोजनबाट आएको देखिन्छ । तनहुँको राजनीतिमा गोविन्दराज जोशी समूहलाई बेवास्ता गर्न सकिँदैन । कांग्रेससँग लामो समयदेखि असन्तुष्ट यो समूहले उपनिर्वाचनमा खुलेर स्वर्णिम वाग्लेलाई समर्थन गर्यो । जानकारहरूका अनुसार यो समूहसँग ५ हजारभन्दा बढी मत ‘होल्ड’ गर्ने क्षमता छ ।
अब भने जोशी समूहबाट दीपकराज जोशी उम्मेदवार बनेका छन् । यसले उपनिर्वाचनमा रास्वपाले पाएको मत आधारमा कटौती हुने सम्भावना बढाएको छ । अर्थात्, हिजोको जित आजको ग्यारेन्टी होइन । यसपटक तनहुँ–१ मा सबै प्रमुख दल आफ्नै चुनाव चिह्नसहित मैदानमा छन् । गठबन्धनका कारण दबिएका पार्टीगत मतदाताले अब ‘आफ्नै दल’ रोज्न पाउने अवस्था बनेको छ । विशेषगरी माओवादीको प्रभाव रहेका आँबुखैरेनी, बन्दीपुर र भानु क्षेत्रमा उपनिर्वाचनमा रास्वपाले पाएको बोनस मत अब दोहोरिन नपाउने सम्भावना छ ।
एमालेका लागि उपनिर्वाचन असफल रह्यो, तर आगामी चुनाव फरक हुन सक्ने संकेत देखिन्छ । यसपटक एमालेले स्थानीय र पहिचान बोकेकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । पार्टी विभाजनपछि कमजोर बनेको संगठन पुनः सम्हालिने अपेक्षा एमालेभित्र छ । विपक्षी दलहरूले स्वर्णिम वाग्लेमाथि ‘गाउँ नफर्किएको’ आरोपलाई मुख्य एजेन्डा बनाइरहेका छन् । रास्वपाले भने चुनावपछि १ सय १० पटक जिल्ला आएको तथ्य प्रस्तुत गर्दै आरोपको खण्डन गरेको छ । यद्यपि, चुनाव नजिकिँदै जाँदा यही भाष्यलाई विपक्षीले अझ तीव्र बनाउने संकेत देखिन्छ ।
कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका लागि अघिल्लो पराजय अब सहानुभूतिको आधार बन्न सक्ने अवस्था छ । नेपाली राजनीतिमा ‘हारेको उम्मेदवारको पुनरागमन’ नयाँ होइन । भट्टराई उपनिर्वाचन हारपछि पनि निरन्तर गाउँ–गाउँ पुग्नुले उनीलाई ‘अफेन्सिभ’ बनाएको छ । रास्वपाले स्वर्णिम वाग्लेलाई केवल उम्मेदवार होइन, ‘भावी अर्थमन्त्री’ का रूपमा प्रस्तुत गरिरहेको छ । अर्थशास्त्री छवि, अन्तर्राष्ट्रिय पहिचान र प्रविधिमैत्री सन्देशलाई पार्टीले मुख्य प्रचार सामग्री बनाएको छ । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका बालेन शाहको दमौली आगमनले युवा मत थपिने अपेक्षा गरिएको छ ।
तनहुँ–१ मा अधिकांश मतदाता मनमनै निर्णय गरिसकेका छन् । तर शक्ति सन्तुलन स्थिर छैन । उपनिर्वाचनको लहर कायम राख्नु रास्वपाका लागि चुनौती हो भने विरासत फिर्ता लिनु कांग्रेस–एमालेका लागि अवसर । यही कारण, तनहुँ–१ को आगामी नतिजा केवल एक सिटको फैसला नभई नेपाली राजनीतिले कुन दिशातर्फ मोड लिन्छ भन्ने संकेतक बन्नेछ ।




