मुख्य समाचार

उज्यालो नेपाल पार्टीको उपत्यकामा चुनावी उम्मेदवार, अभियन्ता, उद्यमी र पेशेवरको मिश्रित टोली मैदानमा

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै उपत्यकामा आफ्नो सशक्त उपस्थितिको दाबी गरेको छ। पार्टीले सामाजिक अभियन्ता, उद्यमी, पर्यटन व्यवसायी, महिला अधिकारकर्मी र पेशेवर पृष्ठभूमिका व्यक्तिहरूलाई उम्मेदवार बनाएर वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्न खोजेको देखिन्छ।

पार्टी अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका छन्। निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका घिसिङले निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट राजीनामा दिएका थिए। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ ३० वर्षभन्दा बढी समय ऊर्जा क्षेत्रमा सक्रिय रहेर दुई कार्यकाल प्राधिकरणको नेतृत्व गरेका व्यक्ति हुन्। २०७३ सालमा लोडसेडिङ अन्त्य गरेपछि उनी राष्ट्रियस्तरमै चर्चामा आएका थिए।

उम्मेदवारी दर्तापछि घिसिङले आफ्नो प्रतिस्पर्धा सत्ता र पदका लागि नभई सुशासन, सामाजिक न्याय र विकासका लागि भएको बताए। “मैले २० वर्षदेखि यो क्षेत्र नजिकबाट बुझेको छु। काठमाडौं–३ को दिगो विकासका लागि उम्मेदवारी दिएको हुँ,” उनको भनाइ छ।

भक्तपुर क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष जितराम लामाले उम्मेदवारी दिएका छन्। गैरसरकारी संस्था महासंघका अध्यक्षसमेत रहेका लामाले काभ्रेलाई स्थायी घर भए पनि लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ क्षेत्रमा सक्रिय रहँदै आएका उनले गरिब र पिछडिएको वर्गका मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी एमाले परित्याग गरेर उज्यालो नेपाल पार्टी निर्माणमा जोडिएका नेता हुन्।

काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि विविध पृष्ठभूमिका उम्मेदवार खडा गरिएको छ। काठमाडौं–१ बाट सामाजिक अभियन्ता मंगलाल श्रेष्ठ, काठमाडौं–२ बाट अमेरिका छोडेर नेपालमै पर्यटन व्यवसाय गरिरहेका युवा उद्यमी पवन पोखरेल उम्मेदवार बनेका छन्। काठमाडौं–४ मा निजी विद्यालय सञ्चालक झनकबहादुर अधिकारी र काठमाडौं–५ मा पर्यटन व्यवसायी श्रीराम गुरुङले उम्मेदवारी दिएका छन्।

काठमाडौं–६ बाट विदेशमा अध्ययन गरेर स्वदेश फर्किएका पर्यटन व्यवसायी वारिस धरेल, काठमाडौं–७ बाट महिला अधिकारकर्मी विमला लामा, काठमाडौं–८ बाट सम्पदा संरक्षण अभियन्ता राजन खड्गी र काठमाडौं–९ बाट पूर्व उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठ मैदानमा छन्। काठमाडौं–१० मा चिकित्सक डा। राकेश न्यौपाने उम्मेदवार बनेका छन्, जो अघिल्लो चुनावमा लौरो अभियानसँग जोडिएका थिए।

भक्तपुर–१ बाट उद्यमी रमेश बल्ल उम्मेदवार छन् भने ललितपुर–१ बाट जेनजी अभियन्ता पदम तामाङ, ललितपुर–२ बाट सामाजिक न्याय आन्दोलनमा सक्रिय राजाराम तण्डुकार र ललितपुर–३ बाट राजनीतिक सचेतना अभियानमा संलग्न डा। आशुतोष विजय पन्त उम्मेदवार बनेका छन्।

उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकासहित देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १२० क्षेत्रमा उम्मेदवारी दिएको जनाएको छ। पुस १२ मा राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गरे पनि १२ दिनमै अलग भएको उज्यालो पार्टीले समानुपातिक सूची भने बुझाउन सकेन। अध्यक्ष घिसिङका अनुसार एकता जोगाउन आफूले लचकता देखाउँदा पनि रास्वपाले एकतर्फी रूपमा प्रक्रिया तोडेको थियो।

उपत्यकामा प्रस्तुत गरिएको उम्मेदवार सूचीले उज्यालो नेपाल पार्टीले परम्परागत राजनीतिभन्दा फरक, पेशागत अनुभव र नागरिक अभियानबाट आएका व्यक्तिहरूलाई अघि सार्दै नयाँ राजनीतिक विकल्प स्थापित गर्न खोजेको सन्देश दिएको छ। आगामी निर्वाचनमा यस रणनीतिले कति प्रभाव पार्छ भन्ने मूल्याङ्कन भने मत परिणामले नै गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *