देश

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक निर्णय गर्दै डा. पौडेललाई बोर्डको अस्थायी नेतृत्व सुम्पेको हो।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएपछि बिमा बोर्ड नेतृत्वविहीन बनेको थियो। सो अवस्थाबाट सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित नहोस् भन्नका लागि मन्त्रालयले डा. पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ।

डा. पौडेल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्। मन्त्रालयका अनुसार बिमा बोर्डको नियमित काम, भुक्तानी प्रक्रिया र प्रशासनिक व्यवस्थापनलाई निरन्तरता दिन उनको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यकारी निर्देशक डा. काफ्लेले सरकारी अस्पताललाई भुक्तानी रोकेर निजी अस्पताललाई मात्रै रकम दिएको आरोप लागेपछि मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेको थियो। सोही क्रममा उनले पदबाट राजीनामा दिएका हुन्। हाल सेवा प्रदायक अस्पतालहरूलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ।

डा. काफ्लेले भने सरकारले आवश्यक सहयोग नगरेको कारण आफूले राजीनामा दिएको बताएका थिए। तर मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निजी अस्पताललाई मात्र भुक्तानी गरिएको विषयमा गम्भीर प्रश्न उठेपछि नेतृत्व परिवर्तनको निर्णय गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *