देश

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा

दशरथचन्द (बैतडी)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। सुरक्षा दृष्टिकोणले जिल्लाका कूल १२९ मतदानस्थलमध्ये ३३ वटालाई अतिसंवेदनशीलका रूपमा वर्गीकृत गरिएको हो।

जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अवस्था मूल्याङ्कनका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन श्रेणीमा विभाजन गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार २८ मतदानस्थल संवेदनशील र ६८ मतदानस्थल सामान्य सूचीमा राखिएका छन्।

विगतका निर्वाचनको अनुभव, सञ्चार र यातायातको पहुँच, भौगोलिक अवस्था तथा विभिन्न राजनीतिक दलको प्रभावलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता निर्धारण गरिएको थापाले बताए। आसन्न निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना तयार पारिएको छ। दुर्गम स्थानमा रहेका मतदानस्थलको नियमित अनुगमन तथा निरीक्षणको कामसमेत भइरहेको उनले जानकारी दिए।

“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र सुरक्षाकर्मी परिचालनका लागि मतदानस्थलको निरीक्षण गरिएको हो,” प्रजिअ पौडेलले भन्नुभयो, “सुरक्षा योजना प्रभावकारी बनाउन दुर्गम क्षेत्रका मतदानस्थलमा विशेष निगरानी बढाइएको छ।”

जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार बैतडीमा प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको छ। यहाँ २१४ मतदान केन्द्र र १२९ मतदानस्थल तोकिएका छन्। आसन्न निर्वाचनमा १० राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता कायम रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *