चितवन। जिल्लाका मतदानस्थललाई निर्वाचन सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त वर्गीकरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लाका २३ मतदानस्थल अति संवेदनशील, ९३ मतदानस्थल संवेदनशील र ४७ मतदानस्थल सामान्य श्रेणीमा राखिएका छन्। “निर्वाचनका दृष्टिले सबै मतदान केन्द्र उत्तिकै महत्वपूर्ण हुन्छन्,” उहाँले भन्नुभयो, “वर्गीकरणअनुसार फरक–फरक सुरक्षा व्यवस्था मिलाइएको छ।”
सरकारले निर्वाचनको तयारी तीव्र बनाएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जिल्लाभरका मतदानस्थलको निरीक्षण गरी वर्गीकरण गरेको हो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया पनि सम्पन्न भइसकेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा कुल ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। तीमध्ये २ लाख १७ हजार ३१४ जना पुरुष, २ लाख २४ हजार ७६६ जना महिला तथा दुई जना तेस्रो लिङ्गी मतदाता छन्। मतदाताले जिल्लाका १६२ मतदानस्थलमा रहेका ४९४ मतदान केन्द्रमार्फत मतदान गर्नेछन्।
निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र पनि थप गरिएको छ।
निर्वाचन क्षेत्रगत विवरणअनुसार क्षेत्र नं १ मा १ लाख ४९ हजार ६२१ मतदाता रहेका छन्। तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७२ हजार ८६० जना महिला छन्। यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन्।
यस्तै निर्वाचन क्षेत्र नं २ मा १ लाख ३७ हजार १५२ मतदाता छन्। तीमध्ये ६७ हजार ८५७ जना पुरुष, ६९ हजार २९४ जना महिला तथा एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। यस क्षेत्रमा ४८ मतदानस्थल र १५२ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन क्षेत्र नं ३ मा १ लाख ५५ हजार ३०९ मतदाता रहेका छन्। तीमध्ये ७५ हजार ६९६ जना पुरुष, ७९ हजार ६१२ जना महिला तथा एक जना तेस्रो लिङ्गी मतदाता छन्। यस क्षेत्रमा ६३ मतदानस्थल र १७४ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवनमा कुल ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए।




