म्याग्दी (बेनी)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार, बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारहरूले तोकिएको समयभित्र मनोनयन दर्ता गराएका हुन्।
स्वतन्त्र उम्मेदवारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिने महावीर पुन र नविन जिसी रहेका छन्।
त्यस्तै, नेकपा (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, रास्वपा बाट युवराज रोका मगर, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, राप्रपा बाट डम्बरबहादुर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन्।
निर्वाचन आयोगले उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता गरेको जनाएको छ।
म्याग्दीमा एक निर्वाचन क्षेत्र, एक नगरपालिका र पाँच गाउँपालिकामा कुल ८६ हजार ३९७ मतदाता रहेका छन्, जसमा पुरुष ४२ हजार ३३२ र महिला ४४ हजार ६४ मतदाता रहेका छन्। जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम छन्।




