खलङ्गा (दार्चुला)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा संयुक्त, आम जनता पार्टी र नेकपा (माओवादी) का उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
नेकपा (एमाले) बाट गणेशसिंह ठगुन्ना, कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मणदत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशसिंह सामन्त, नेपाल मजदुर किसान पार्टीबाट रमेशकुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, नेकपा संयुक्तबाट विद्यादेव जोशी, आम जनता पार्टीबाट प्रेमसिंह बडाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र नेकपा (माओवादी) बाट इन्जिनियर नवराज भट्टले मनोनयन दर्ता गरेका छन्।
विसं २०७९ को निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका थिए। यसपटक उहाँले निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। एमालेले पुरानै उम्मेदवार गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशी २०६४ सालको संविधानसभा सदस्य निर्वाचित रहिसक्नुभएको छ।




