सिरहा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा ६५ राजनीतिक दलका उम्मेदवार र ७४ स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका हुन्।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार, क्षेत्र नं १ मा १८ स्वतन्त्रसहित ३२, क्षेत्र नं २ मा १५ स्वतन्त्रसहित २९, क्षेत्र नं ३ मा १८ स्वतन्त्रसहित ४१ र क्षेत्र नं ४ मा २३ स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं १ मा बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र यादवले मनोनयन दर्ता गरेका छन्। क्षेत्र नं ३ मा नेकपा (एमाले) का लिलानाथ श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ साह उम्मेदवार रहेका छन्।
क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादव, जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो, नेपाली कम्युनिष्ट पार्टीका अजयशङ्कर नायक, नेकपा (एमाले) का धर्मनाथ साह र बहुजनशक्ति पार्टीका विश्वेन्द्र पासवानले उम्मेदवारी दर्ता गरेका छन्।




