देश

खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ। जिल्लामा प्रतिनिधिसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।

मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेकपा (एमाले) बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक तामाङले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेकपा (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गरेका छन्।

जिल्लाबाट दुई स्वतन्त्र उम्मेदवार डा राजकुमार राई र तीलकचन्द्र राईले पनि मनोनयन दर्ता गरेका छन्। डा राजकुमार राई पहिले कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका थिए।

निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १९५ मतदान केन्द्र कायम गरिएको छ। खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदाता रहेका छन्।

विसं २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका थिए। त्यतिबेला प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मत यसरी गएको थियो: एमाले २४,२७१, कांग्रेस १८,६७२, माओवादी केन्द्र ११,८४५, नेकपा (एकीकृत समाजवादी) ३,०३६, जनता समाजवादी पार्टी २,२४८, रास्वपा १,४९७ र राप्रपा १,२५५।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *