राजनीति

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी दर्ता

फिक्कल (इलाम)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुई निर्वाचन क्षेत्रमा ३ महिला सहित २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मङ्गलबार इलाम क्षेत्र नम्बर १ को उम्मेदवारी सूर्योदय नगरपालिकास्थित कार्यालयमा र क्षेत्र नम्बर २ को उम्मेदवारी सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ।

क्षेत्र नम्बर १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। यसमा नेकपा (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई, नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राई, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेकपा (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू रहेका छन्। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिलालाई उम्मेदवार बनाएको छ।

क्षेत्र नम्बर २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ। यसमा नेकपा (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य, नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू, नेकपा (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन र डाकप्रसाद गौतम रहेका छन्। यहाँ मात्र राष्ट्रिय जनमुक्ति पार्टीले महिलालाई उम्मेदवार बनाएको छ।

जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार क्षेत्र नम्बर २ का गोकुलबहादुर राई (३२ वर्ष) र जेठो उम्मेदवार नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८ वर्ष) हुनुहुन्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता रहेका छन्। यसमा पुरुष १ लाख १९ हजार ६ सय ४८, महिला १ लाख १२ हजार १ सय ५८ र ३ तेस्रोलिङ्गी मतदाता छन्। निर्वाचनका लागि १९० मतदानस्थलमा २५० मतदान केन्द्र कायम गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *