देश

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० जना विभिन्न राजनीतिक दलबाट र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा र श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन्। जयप्रकाश पन्त र तेजबहादुर चन्द स्वतन्त्र उम्मेदवार रहेका छन्।

निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गरिनेछ। माघ ८ गते दाबी–विरोधमाथि जाँचबुझ गरी निर्णय गरिनेछ भने माघ ९ गते संशोधित नामावली प्रकाशन गरिनेछ। माघ १० गते उम्मेदवारी फिर्ता र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *