देश

कञ्चनपुरमा कांग्रेस नेतृत्वविरुद्ध आक्रोश, टिकट विवादले पुत्ला दहनसम्म पुग्यो

काठमाडौं । नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया विवादित बन्दै गएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिइएपछि कञ्चनपुरमा पार्टी नेतृत्वविरुद्ध खुलेर विरोध प्रदर्शन भएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा लेखक समर्थकहरूले कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाउँदै नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। उनीहरूले टिकट वितरणमा मनपरी र एकपक्षीय निर्णय भएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेसले कञ्चनपुर–३ बाट लामो समयदेखि निर्वाचन जित्दै आएका रमेश लेखकलाई हटाएर हरि बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्थानीय तहमा असन्तोष चुलिएको हो। अनुभवी र जनआधार भएका नेतालाई पाखा लगाइएको भन्दै कार्यकर्ताहरू आक्रोशित देखिएका छन्।

रमेश लेखक यसअघि २०५६, २०७० र २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमध्ये कांग्रेसले क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति गोपी उपाध्याय र क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एनपी साउँदलाई उम्मेदवार बनाइसकेको छ।

टिकट वितरणपछि देखिएको विरोध र असन्तोषले कांग्रेसभित्रको आन्तरिक मतभेद सार्वजनिक रूपमा सतहमा आएको संकेत दिएको छ। यसले आगामी निर्वाचनको परिणाममा समेत असर पर्ने आंकलन हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *