देश

दुर्गा प्रसाईंले ५२ करोडको प्रमाण झिकाए हिरो बन्ने

काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण पटक–पटक चर्चामा रहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि निर्वाचन आयोगले कडा निगरानी थालेको छ। चुनावको संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत राजनीतिक दल र नेताविरुद्ध घृणा, वितृष्णा र अविश्वास फैलाएको निष्कर्ष निकाल्दै आयोगले उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई औपचारिक रूपमा आग्रह गरेको छ।

आयोगका अनुसार पछिल्लो एक महिनायता प्रसाईंले विभिन्न राजनीतिक व्यक्तित्वमाथि आधारहीन आरोप लगाउँदै चरित्रहत्या गर्ने शैली अपनाएका छन्। यस्ता गतिविधिले निर्वाचनको निष्पक्ष वातावरण बिगार्न सक्ने ठहर गर्दै आयोगले लिखित निर्देशनसहित साइबर ब्युरोलाई सक्रिय हुन भनेको हो।

हालै मात्र प्रसाईंले आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस विभाजनमा “५२ करोडको खेल” भएको दाबी गरेका थिए। गगन थापा समूहले निर्वाचन आयोगका पदाधिकारीलाई घुस खुवाएर कांग्रेसको आधिकारिकता लिएको आरोप लगाए पनि उनले सो दाबी पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गर्न सकेनन्। प्रमाणविहीन आरोप सार्वजनिक रूपमा लगाइनु गम्भीर विषय भएको आयोगको बुझाइ छ।

निर्वाचन आयोग स्रोतका अनुसार सस्तो लोकप्रियता कमाउने उद्देश्यले जिम्मेवार निकाय र नेताहरूमाथि अण्टसण्ट आरोप लगाउने प्रवृत्तिले चुनावी प्रक्रिया नै प्रभावित पार्न सक्ने खतरा देखिएको छ। यही कारण आचारसंहिता लागू हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरण गर्न पहल गरिएको हो।

आज मध्यराति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ। यस्तो अवस्थामा प्रसाईंका गतिविधिले चुनावी वातावरण थप बिथोल्न सक्ने ठहर गर्दै आयोगले समयमै हस्तक्षेप आवश्यक ठानेको बताइन्छ। अब उनले सार्वजनिक रूपमा लगाएका आरोप प्रमाणसहित पुष्टि गर्न सके “हिरो” बन्ने अवसर रहला, नत्र कानुनी कारबाहीबाट उम्कन गाह्रो पर्ने संकेत आयोगको कदमले दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *