काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लब विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा भएको खेलमा सङ्कटाले काँक्रेविहार क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
सङ्कटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले समान एक÷एक गोल गरे । अनिषको गोलमा सङ्कटाले १४औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा कृष्णले गोल गरे । त्यसपछि विशालले खेलको ५५औँ मिनेटमा गोल गरे भने गिलबर्टले खेलको ७४औँ मिनेटमा अर्को गोल थपे ।
सङ्कटाको यो पहिलो जित हो । सङ्कटाले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो । काँक्रेविहारको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।




