काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले कांग्रेस संस्थापन पक्षले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन माग गरेको छ ।
संस्थापन पक्षका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोनयनसहितका सबै निर्वाचन कार्यक्रम अदालतको अन्तिम फैसला नआएसम्म स्थगन गर्न आग्रह गरेका हुन् ।
पार्टीको वैधानिक नेतृत्व र चुनाव चिन्हसम्बन्धी विषय स्पष्ट नभएसम्म चुनावी गतिविधि अघि बढाउँदा थप संवैधानिक र कानुनी जटिलता सिर्जना हुन सक्ने संस्थापन पक्षको तर्क छ । लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष प्रतिस्पर्धाका लागि अदालतको निर्णय नआउँदासम्म निर्वाचन कार्यतालिका आयोगले रोक्नुपर्ने उनीहरुको माग छ ।
कांग्रेसभित्रको आन्तरिक विवाद न्यायिक प्रक्रियामा पुगेसँगै यसको असर राष्ट्रिय राजनीतिको चुनावी वातावरणमा पनि प्रत्यक्ष देखिन थालेको छ । आयोगले अब यस निवेदनमाथि के निर्णय लिन्छ भन्ने चासो बढेको छ ।





