काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनको स्थितिमा पुग्नु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी विधानलाई लत्याएर सडकबाट बहुमत प्रमाणित गर्ने प्रयासले लोकतन्त्र र समाजलाई अराजकतर्फ धकेल्ने षड्यन्त्र भइरहेको जिकिर गरे। उनले विशेष महाधिवेशनका नाममा गरिँदै आएको गतिविधिप्रति प्रश्न उठाउँदै यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने बताए।
उनले काँग्रेस विभाजनको अवस्था आउनु लोकतन्त्रकै लागि दुखद भएको उल्लेख गर्दै यस्तो परिस्थिति देख्दा आफू आश्चर्यचकित भएको बताए। “महाधिवेशन बोलाउने, बैठक गर्ने, बहुमत–अल्पमत टुंगो लगाउने सबै प्रक्रियाको आ–आफ्नै थिति हुन्छ,” ओलीले भने, “सडकमा बहुमत पुगेको भनेर घोषणा गर्दैमा लोकतान्त्रिक वैधता स्थापित हुँदैन।”
अध्यक्ष ओलीले लोकतन्त्र, कानुनी शासन र संविधानसँग सम्बन्धित विषयको समाधान न्याय निरूपण गर्ने संस्थामार्फत हुनुपर्नेमा जोड दिए। उनले अहिले लोकतन्त्र, प्रणाली र संविधानमाथि आघात पुगेको अवस्थामा त्यसका लागि लड्नुपर्ने काँग्रेस नै अनावश्यक आन्तरिक द्वन्द्वमा फसेर विभाजनतर्फ उन्मुख हुनु चिन्ताजनक भएको बताए।
कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै पार्टी पंक्तिलाई पनि सन्देश दिँदै सानातिना असन्तुष्टिलाई थाँती राखेर एकताबद्ध हुन आग्रह गरे। “अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन,” उनले भने, “देश, जनता र लोकतन्त्रका लागि दिल खोलेर लड्ने बेला हो।”
उनले शान्ति, सुशासन, संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे।




