देश

आचारसंहिता पालना गराउन कुनै कसर बाँकी राखिँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा भण्डारीले सो कुरा बताएका हुन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल र पक्षलाई भण्डारीले आग्रह गरे । मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उमेदवारहरूलाई उनको आग्रह छ ।

“नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानुनको लक्ष्मण रेखाभित्र रहेर कानुनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनै पनि कसर बाँकी राख्दैन भन्ने कुरा यहाँहरूले विश्वास गर्नुभएकै छ,“ भण्डारीले भने, “मैले धेरै व्याख्यात्मक रूपमा उहाँहरूलाई केही भनिनँ । राम्रोसँग अनुशासित तरिकाले कानुनलाई परिपालन गरिदिनुस् ।“

निर्वाचन आयोगले उमेदवारहरूले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोहीअनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जनाए ।

“खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमाभित्र पनि रहिदिनुहोस् । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ,“ भण्डारीले भने, “खर्च गर्न पाउने आधार पनि हामीले तोकिदिएका छौँ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।“

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *