देश

विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो : का.वा सभापति खड्का

काठमाडौं।सभापति  शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता का.वा सभापति पूर्णबहादुर खड्काले पार्टी विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै कडा आपत्ति जनाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले नेपाली कांग्रेस पार्टी विधानअनुसार मात्रै चल्ने स्पष्ट पारे। उनले राजनीतिक दलहरूको काँधमा संविधान रक्षा गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै पार्टीभित्रैबाट अनुशासन विपरीत गतिविधि भएको आरोप लगाए।

‘पार्टी विधानअनुसार चल्छ। राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ। विषम परिस्थितिमा पार्टीभित्रैका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरे,’ खड्काले भने, ‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टी विधानविपरीत निर्वाचन आयोगमा पुगेको जानकारी पाएका छौँ। आज हामीले निर्वाचन आयोगमा पुगेर नेपाली कांग्रेस, पार्टी विधान र यससँग सम्बन्धित वैधानिक विषयमा गम्भीर ध्यानाकर्षण गराएका छौँ।’

उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको दाबी गरे। ‘नेपाली कांग्रेसको विधानले पार्टीको अधिवेशन वा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ। अन्य कसैलाई यो अधिकार दिएको छैन,’ उनले भने, ‘यो कुरा विधानका धारा र दफामा स्पष्ट रूपमा उल्लेख छ। केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै विशेष महाधिवेशन हुन सक्छ। त्यसको प्रक्रिया, विधि र कार्यसूची विशेष महाधिवेशनबाट नै तय हुनुपर्ने हुन्छ। तर केन्द्रीय समितिलाई यसबारे कुनै जानकारी नै छैन।’

विशेष महाधिवेशन मागकर्ताको निवेदनका विषयमा खड्काले नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरियोस् भन्ने मागसहित निवेदन दर्ता भएको जानकारी दिए। ‘त्यही निवेदनको आधारमा हामीले नियमित महाधिवेशन गर्ने प्रक्रिया अघि बढायौँ,’ उनले भने, ‘तर अहिले आएर त्यसलाई संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *