काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मकर संक्रान्ति/माघे संक्रान्ति जस्ता पर्वहरूले सामाजिक सद्भाव, आपसी सहकार्य र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
मकर संक्रान्ति/माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व नेपालका विभिन्न जातजाति तथा समुदायहरूले आफ्नै सांस्कृतिक पहिचानसहित उल्लासपूर्वक मनाउँदै आएको महत्वपूर्ण चाड भएको बताएका छन्।
भौगोलिक, जातीय तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वहरूले अनेकतामा एकताको भावना सुदृढ गर्दै समाजलाई अझ बलियो बनाउने उनको भनाइ छ।
शुभकामना सन्देशमा कार्यवाहक सभापति खड्काले मकर संक्रान्ति/माघे संक्रान्तिलाई विशेष पर्वका रूपमा मनाउने थारू, मगर समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई पार्टी र व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।





